सुनसरीको बराहक्षेत्रदेखि उदयपुरको मैनामैनीसम्म केबलकार बन्ने

सुनसरीको बराहक्षेत्रदेखि उदयपुरको मैनामैनीसम्म केबलकार बन्ने

प्रसिद्ध धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्रबाट उदयपुरको मैनामैनीसम्म केबलकार सञ्चालनका लागि सभ्याव्यता अध्ययन सुरु गरिएको छ । बराहक्षेत्र मन्दिरदेखि उदयपुरको बेलका नगरपालिकाको मैनामैनीसम्म सञ्चालन हुने केबलकार करिब तीन किलोमिटर लामो हुने बेलका नगरपालिकाका मेयर दुर्गा थापाले बताए ।

प्राविधिकहरूको प्रारम्भिक रिपोर्टअनुसार छोटो दूरी भएकाले केबलकार सञ्चालन गर्न सकिने देखिएको उनको भनाइ छ । यसअघि चन्द्रागिरि हिल केबलकारको अध्ययन गरेको गोसाइँकुण्ड दर्शन केबलकार प्रालि काठमाडौंको प्राविधिक टोलीले गत १४ असोजमा स्थलगत अध्ययन गरेको थापाले जानकारी दिए ।

प्राविधिक टोलीले बराहक्षेत्रमा एउटा स्टेसन र मैनामैनीमा एउटा स्टेसन राखेर सञ्चालन गर्न सकिने जनाएको बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टराईले जानकारी दिए । ‘अत्यन्त छोटो दूरीमा भएकाले केबलकार सञ्चालन उपयुक्त हुने प्राविधिक टोलीले बताएका छन्,’ भट्टराईले भने, ‘एक सातामा डिपिआर रिपोर्ट दिने भनेका छन्, त्यसपछि बराहक्षेत्र नगरपालिकासँग समन्वय गरेर काम अगाडि बढ्छ ।’ डिपिआरका लागि प्राविधिक टोलीले दुई लाख ५० हजार रकम प्रस्ताव गरेका छन् ।

मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग पनि यही बराहक्षेत्र र बेलका नगरपालिका भएर सञ्चालन हुने भएकाले यस क्षेत्रमा केबलकार सञ्चालन हुँदा यात्रुको चाप अत्यधिक हुने मेयर थापाले बताए । उनका अनुसार बराहक्षेत्र दर्शन गर्न पश्चिम नेपालबाट मात्र नभई भारतको कुनौली, सुनौली पुगेका पर्यटक पनि आउने गरेका छन् । ‘सप्तरीको कञ्चनपुर–फत्तेपुर हुँदै चौदण्डीगढीसम्म गाडीको यात्रा गरेर केबलकारबाट बराहक्षेत्र पुग्ने गरी परियोजना सञ्चालन गर्ने तयारी छ,’ उनले भने ।

केबलकार सञ्चालनका लागि बराहक्षेत्र नगरपालिकाले समेत चासो देखाएको छ । दुवै नगरपालिकाको संयुक्त लगानीमा केबलकार सञ्चालन गरिने बेलकाका मेयर थापाले बताए । गत १४ असोजमा प्राविधिक टोलीले अनुगमन गर्दा दुवै नगरपालिकाका प्रतिनिधि उपस्थित थिए ।

केबलकार सञ्चालनका लागि नेपाल पर्यटन बोर्डले समेत लगानी गर्ने भएको छ । बेलका नगरपालिकाले पर्यटन प्रवद्र्धन तथा सम्भाव्यता अध्ययनका लागि मात्र ४० लाख बजेट विनियोजन गरेको छ । चौदण्डीगढी–मैनामैनी हुँदै कोसी पुलसम्म नगरपालिकाले सडक सञ्जाल पु¥याइसकेको छ । चौदण्डीगढीदेखि मैनामैनीसम्मको पर्यटन विकासका लागि प्रदेश सरकारले समेत १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यी हुन् केबलकारले जोड्ने पर्यटकीयस्थल
सेनवंशले शासन गरेको चौदण्डीगढीबाट टंकेला गुफा चार किलोमिटर पूर्वमा पर्छ । सो गुफा सप्तकोसीसम्म पुगेको स्थानीय बताउँछन् । गुफानजिकै कोलुङ झरना छ । त्यहाँबाट एक किलोमिटर दूरीमा रानी झरना छ । रानी झरनाबाट दुई किलोमिटर दूरीमा मैना राजा मैना रानीको ऐतिहासिक स्थल छ । त्यहाँबाट तीन किलोमिटर पूर्व बराहक्षेत्रसम्म केबरकार सञ्चालन हुनेछ ।

स्रोत: नयाँ पत्रिका