बुटवलका दुई स्थानमा केबलकार सञ्चालन प्रक्रिया अघि बढ्यो

बुटवलका दुई स्थानमा केबलकार सञ्चालन प्रक्रिया अघि बढ्यो

औद्योगिक र शैक्षिक नगरीको पहिचान बनाएको बुटवल अब पर्यटकीय हबको रुपमा विकास हुने भएको छ । बुटवलको पर्यटकीय क्षेत्र मणिमुकुन्द सेन उद्यान (फूलबारी) देखि पाल्पाको नुवाकोटसम्म र बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुरसम्म दुई स्थानमा केबलकार सञ्चालन हुने भएपछि पर्यटन प्रवद्र्धनको ढोका खुल्ने भएको हो ।
बुटवल–नुवाकोट केबलकारका लागि सिद्धार्थ केबलकार प्रालिले डिपीआरसमेत सम्पन्न गरिसकेको छ भने केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले स्वीकृतिसमेत दिइसकेको छ ।
यस्तै बुटवलको गोलपार्कदेखि वसन्तपुरसम्म केबलकार सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्न अर्को कम्पनीले पनि उपमहानगरसँग स्वीकृति लिइसकेको छ । उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले दुईवटा केवलकार निर्माणपछि बुटवलले मुहार फेर्ने विश्वास व्यक्त गरे ।
करिब एक अर्ब रुपैयाँ लगानीमा निर्माण हुने केबलकार निर्माणको तयारी अन्तिम चरणमा पुगेको सिद्धार्थ केबलकार प्रालिले जनाएको छ । कुल लम्बाइ २.९ किमी रहेको सो केबलकारको निर्माण यसै वर्ष सुरु हुने सिद्धार्थ केबलकारका सञ्चालक राजेन्द्रसिंह गुरुङले जानकारी दिए ।

केबलकार सञ्चालनका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुदायिक वन उपभोक्ता समिति १–२ रुपन्देहीले सहमति प्रदान गरिसकेको छ । सन् २०२० जनवरीसम्ममा निर्माण सम्पन्न हुने केबलकारमा प्रत्यक्ष ६० जना र अप्रत्यक्ष एक सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने सिद्धार्थ केबलकारका कन्सल्ट्यान्ट एवं रोपवे नेपाल प्रालिका अध्यक्ष गुणराज ढकालले बताए । ‘अबको चार महिनापछि केबलकारको निर्माण सुरु हुन्छ,’ उनले भने, ‘निर्माण सुरु भएको १८ महिनामै सम्पन्न हुन्छ ।’
बुटवलदेखि नुवाकोटसम्म केवलकार सञ्चालनपछि विशेषतः पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । सुरुवातमा दैनिक ५ हजार यात्रु बोक्ने क्षमता रहेको केबलकारको अधिकतम दैनिक १० हजार छ ।
सुरुवातमा एक घण्टामा एक हजारका दरले स्वदेशी वा विदेशी पर्यटक बोक्ने लक्ष्यका साथ स्थापना हुन लागेको केबलकारमा अधिकतम ९० वटा डिब्बा रहने सिद्धार्थ केबलकार प्रालिले जनाएको छ । पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका गोरखपुर, लखनउ, बनारस र बिहारका विभिन्न स्थानका समेत गरी करिब ८ करोड जनसंख्या लक्षित क्षेत्र रहेको रोपवे नेपालका अध्यक्ष ढकालले जानकारी दिए ।

स्रोत: न्युज कारोबार